काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषामा सहमति भए सदन चल्छ बताएका छन् ।
आइतबार कांग्रेससँग संसद भवनको शंकर हलमा बसेको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले समझदारी टुंग्याउने प्रयासमै रहेको बताएका हुन् ।
‘छलफल चलिरहेको छ । समझदारी र सहमतिको भाषा टुङ्ग्याउने प्रयासमा छौं,’ उनले भने । ‘प्रतिपक्षी पनि लचिलो बन्नुपर्छ । सरकार पनि लचिलो बन्नुपर्छ । भाषामा समझदारी भए सदन चल्छ ।’
कांग्रेस र माओवादी केन्द्रबीच बानेश्वरमा भएको छलफलमा सदन खुलाउने विषयमा नयाँ उपायबारे केन्द्रित भएको छ ।
तत्कालका लागि भिजिट भिसा प्रकरणलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्ने र अख्तियारको छानबिनपछि समिति वा आयोग बनाएर पुनः छानबिन गर्ने विषयमा छलफल भएको बताइएकाे छ ।
कांग्रेस र माओवादीबीच लिखित सहमति नै गर्ने र त्यसका लागि मस्यौदाको भाषामा छलफल भइरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।
प्रचण्ड बाहिरिए पनि माओवादी केन्द्रका अरू नेताहरू र कांग्रेसका नेताहरु छलफलमै छन् ।


प्रतिक्रिया