इजरायलको जासुस भएको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी

इजरायलको जासुस भएको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी



काठमाडौं । इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिइएको छ । इरान इन्टरनेसनलका अनुसार, देशका लागि गद्दारी गरेको आरोपमा दोषी ठहर गरिएका इस्माइल फेक्री नामका व्यक्तिलाई इरानले सोमबार फाँसी दिएको हो ।

त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सदर गरेपछि उनलाई कारबाही गरिएको इरानको सरकारी मिडियाले जनाएको छ ।

फेक्रीले इजरायली एजेन्टलाई गोप्य सूचना दिएको आरोप लगाइएको थियो । पछिल्ला केही हप्तामा इजरायलको पक्षमा जासुसी गरेको आरोपमा दिइएको यो तेस्रो फाँसी हो ।

यसअघि अप्रिल महिनामा अर्का साइबर सुरक्षा विशेषज्ञ मोहसेन लङ्गरनेसिनलाई पनि जासुसी अभियोगमै मृत्युदण्ड दिइएको थियो । यद्यपि, मानवअधिकार समूहहरू र अभियन्ताले उनको दोष प्रमाणित गर्न जबर्जस्ती बयान लिइएको र कानुनी प्रक्रिया नै त्रुटिपूर्ण रहेको आरोप लगाउँदै आएका छन् ।