इरानमाथि आक्रमण गर्ने नगर्नेबारे ट्रम्पले दुई सातामा निर्णय गर्ने

इरानमाथि आक्रमण गर्ने नगर्नेबारे ट्रम्पले दुई सातामा निर्णय गर्ने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान द्वन्द्वमा सैन्य हस्तक्षेप गर्ने नगर्ने निर्णय अझै गरेका छैनन् ।

ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी हमलाबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रपति ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने वा नगर्ने निर्णय गर्ने बताएकी हुन् ।

अमेरिकी सैन्य कारबाहीको बारेमा अन्तिम निर्णय गर्नुअघि कूटनीतिक प्रयासहरू बढाउने चाहाना स्वरुप यो निर्णय गरिएको उनको भनाइ छ । ट्रम्पको यो वक्तव्य प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ह्वाइट हाउसको नियमित पत्रकार अन्तक्र्रियामा पढेर सुनाएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार समयमा सही निर्णय नगर्ने ट्रम्पको विगत छ । तर, यसले कूटनीतिक सम्भावनाको ढोका खोलेर तनाव केही कम गरेको बताइएको छ । यो घोषणा आएको दिन इजरायल र इरानबीच सातौँ दिनसम्म आक्रमण चलिरहेको छ । इजरायली रक्षामन्त्रीले इरानी सुप्रिम लिडर अयातुल्लाह अली खामेनेई अब अस्तित्वमै रहँदैनन् भन्ने अभिव्यक्ति दिएका छन् । यसको प्रतिक्रियास्वरूप इरानले इजरायलको बेर्र्सेबाको सोरोका अस्पतालमा मिसाइल हमला गरेर ७१ जना घाइते बनाएको छ ।

यसैबीच, इजरायलले फोर्डो परमाणु केन्द्रसहित इरानी विभिन्न परमाणु केन्द्रहरूमाथि आक्रमण बढाएको छ । ट्रम्पले फोर्डो परमाणु केन्द्रमा आक्रमण गर्ने सैन्य योजना बनाइसकेको र यसलाई उनका सल्लाहकारहरूले इरानी परमाणु कार्यक्रमलाई दीर्घकालीन अमेरिकी संलग्नता बिनै नष्ट गर्ने मौका भएको बताएका छन् । तर, यसका कारण उनका सहयोगीहरूले मध्यपूर्वका अमेरिकी अड्डामा हमला वा होर्मुज स्ट्रेट बन्द हुनसक्ने डर देखाएका छन् ।

यसैबीच, अमेरिकी दूत स्टिभ विटकफ र इरानी अधिकारीहरूबीच गोप्य वार्ता जारी छ । तर, इरानले बमबारी जारी रहँदा वार्ता असम्भव भएको बताएको छ । युरोपेली कूटनीतिज्ञहरूले तनाव कम गर्न आग्रह गरेका छन् । इरानले अमेरिकी संलग्नताले क्षेत्र नष्ट गर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ ।