जनकपुर । धनुषाकाे विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाइकलमा अवैध सामानहरू लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ठूलो समूहमा रहेको तस्करहरूसँग झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले खानतलासीका क्रममा एउटा मोटरसाइल फेला पारेको थियो ।
नजिकै रहेको टहरोमासमेत खोजतलास गर्ने क्रममा ठूलो संख्यामा रहेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि जाइलागेको सहप्रवक्ता थपाले बताए ।
‘खोजतलास गर्ने क्रममा सय–डेढ सयको संख्यामा रहेका मानिसहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरे । त्यसक्रममा ६ जना सशस्त्र प्रहरीहरू घाइते भएका छन् भने स्थिति नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर समेत गरेको थियो,’ उनले भने ।
घाइते भएकाहरूमध्ये तीन जना सशस्त्र प्रहरीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ ।


प्रतिक्रिया