सामाजिक सुरक्षा कोषले झन्डै ३ अर्ब रुपैयाँ ब्याज बाँड्यो

सामाजिक सुरक्षा कोषले झन्डै ३ अर्ब रुपैयाँ ब्याज बाँड्यो



काठमाडौं । सामाजिक सुरक्षा कोषले गएको आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।

कोषले योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज वितरण गरेको सूचना अधिकारी डा. रोशन कोजुले जानकारी दिए ।

कोषले गएको आर्थिक वर्षमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गएको चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो ।

कोषमा अहिलेसम्म औपचारिक क्षेत्रका ६ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान सङ्कलन भएको छ ।

कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।