दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ । विसं २०७५ वैशाख २ गते मालिकालिर्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माण गर्न सहकार्य भएको थियो ।
७७ दशमलव ४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइ रहेको झोलुङ्गे पुलको कुल लागत ३८ लाख ६५ हजार २०८ रुपैयाँ निर्माण भएको थियो । पुलको प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल बनेको सात वर्ष पूरा भएको छ ।
आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न गरिएको झोलुङ्गे पुलको पारवहन क्षमता समेत नगरी पास गरिएको छ । पुल निर्माण गर्दा खेतमा परेपछि जग्गा धनीले खेतको मुआब्जा लिएको स्थानीयले बताएका छन् । तर त्यसभन्दा तल अर्काको जमिन परेपछि मुलबाटोसम्म पुग्न बाटो नहुँदा पुल प्रयोगविहीन बनेको हो ।
अघिल्लो आवमा पुलसम्म जाने घोरेटोबाटो निर्माणका लागि वडा पालिकाबाट रु ५० हजार बजेट विनियोजन गरेका हौँ, तर जग्गाधनीले खेतबाट बाटो दिएनन् मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीले भने ।
झोलुङ्गे पुल निर्माण भए पनि प्रयोगमा नआउँदा त्यस क्षेत्रका स्थानीयले वडा कार्यालय र स्थानीय सरकारलाई पुल सञ्चालनका बारेमा मौखिक र लिखित रूपमा आग्रह गरे पनि समस्या पहिलाको जस्तै रहेको स्थानीयले बताएका छन् ।
हुनैनाथ मावि चन्दनपुर, मालिकार्जुन गाउँपालिका–४ को कार्यालय, स्वास्थ्य चौकी आवतजावत गर्ने सेवाग्राहीले बर्खाका समयमा समस्या झेल्दै आएका छन् ।


प्रतिक्रिया