विद्याले मेरै पदमा आँखा गाडेपछि बाध्य भएर पार्टीले रोक लगायो : प्रधानमन्त्री ओली

विद्याले मेरै पदमा आँखा गाडेपछि बाध्य भएर पार्टीले रोक लगायो : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्षको पदमा आँखा गाडेकै कारण केन्द्रीय कमिटीले निर्णय लिनु परेको बताएका छन्।

बालुवाटारमा कर्णालीबाट आएका नेताहरूसँगको भेटमा ओलीले पूर्वराष्ट्रपतिबाट पार्टी राजनीतिमा सक्रिय हुने कदमको आफूहरूले कल्पना नै नगरेको स्पष्ट पारे।

उनले भने, ‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो।’

ओलीका अनुसार, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक बनेको व्यक्तिबाट आएको यस्तो व्यवहारले आफैं उहाँको कदमा आघात पुगेको पनि बताए। ओलीको भनाइ थियो, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’

छलफलमा ओलीले पार्टीभित्र देखिएको हावाको झोका पछ्याउनुभन्दा एकतामा जोड दिँदै पार्टी निर्माणमा लाग्न नेताहरूलाई निर्देशनसमेत दिएका छन्।