काठमाडौं । सरकारले बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेकाे छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो ।
तर तोकिएको कार्यालय समयको अन्तिम समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने तयारी गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।
कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन गर्न सकिने प्रावधान छ । त्यसैले अन्तिम समयसम्म पर्खिने र बिहीबार बिहानसम्म निवेदन नआएमा मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
बुधबार नै सर्वाेच्च अदालतले कानूनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन परमादेश जारी गरेकाे छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् । तीमध्ये भाइबर, बिटक, टिकटक, निम्बजलगायत रहेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।
बाँकी अन्य लोकप्रिय सामाजिक सञ्जालले भने अहिलेसम्म कुनै सम्पर्क नगरेको मन्त्रालयको भनाइ छ ।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको थियो ।


प्रतिक्रिया