जेन-जीकाे आन्दोलनमा मृतकको संख्या १९ पुग्यो

जेन-जीकाे आन्दोलनमा मृतकको संख्या १९ पुग्यो

विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएपछि जेन-जीकाे आन्दोलनमा मृतकको संख्या १९ पुगेको छ ।

सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए । त्यसमध्ये दुई जनाको मृत्यु भएको हो । अहिलेसम्म ३४ जना घाइतेकाे उपचार जारी रहेकाे दाहालले बताए ।

केएमसीमा दुई, सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा ७, टिचिङ अस्पतालमा एक, एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।

यसैगरी इटहरीमा पनि जेनजी पुस्ताको प्रदर्शन भएको छ । त्यहाँ पनि प्रहरीले बल प्रयोग हुँदा दुई जनाको मृत्यु भएको छ ।

देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।