काठमाडौंमा पुनः बढाइयो कर्फ्युको समय

काठमाडौंमा पुनः बढाइयो कर्फ्युको समय



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको कर्फ्यु आदेशमा शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान मंगलबार ५ बजेसम्म कर्फ्यु जारी रहनेछ ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जेन जी ले गरेको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको आदेश जारी गरिएको हाे ।