गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौं : सेना

गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौं : सेना



काठमाडौं । नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।

सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ, ‘यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।’

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन् । उनले एक भिडियो सन्देशमा जारी गर्दै यस्तो वार्ताका लागि अनुरोध गरेका हुन् ।

“वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र जनतालाई सुरक्षाका दिनु हामी सबैको साझा कर्तव्य हो,” उनले भनेका छन् ।

उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना, शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन् ।

प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ ।’