काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।
नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।
संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको हाे ।
हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । अहिले राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए ।
त्यसैगरी, घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका थिए । आजै शीतलनिवासअघि घिसिङ र हर्क साम्पाङको पक्षमा नाराजुलुस भएको थियो ।


प्रतिक्रिया