काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनकै आग्रह भएको दाबी गरेको छ।
मंगलबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो।’
उनले थपिन्, ‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि।’
यसै विषयमा पार्टी प्रवक्ता मनिष झाले पनि पत्रबारे प्रश्न उठाएको बताए। झाले भने, ‘पत्रको बारेमा प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नुभएन।’
रास्वपाले कारागार प्रशासनले नै जोखिम भएको बताएपछि सभापतिको सुरक्षाको जिम्मेवारी आफूहरूले लिएको स्पष्ट पारेको छ।


प्रतिक्रिया