आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन्


ग्लोब नेपाल
567
Shares

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वड सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।