काठमाडौं । नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जोशीले गएको वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको जानकारी गराएका हुन् ।
बोर्डका अनुसार गएको वर्ष असोजको पहिलो हप्ता दैनिक तीन हजार तीन सय देखि तीन हजार चार सय जनासम्म पर्यटक आएकामा यो वर्ष एक हजार छ सयको हाराहारीमा झरेको छ ।
पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रूपमा नेपाल भित्र्याउने कामलाई सघन ढङ्गले अघि बढाइएको बताए ।
त्यसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया