निर्मलनिवासद्वारा पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन

निर्मलनिवासद्वारा पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन



काठमाडौं । निर्मलनिवासले पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ ।

दसैंको अवसरमा आइतबार निर्मलनिवासबाट जारी भएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई ‘पूर्व श्री ५’ भनेर उल्लेख गरिएको गरिएको छ ।

यसअघि निर्मलनिवासबाट प्रकाशित हुने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ भनेर उल्लेख गरिन्थ्यो ।

संविधानले चिन्दै नचिनेको ‘श्री ५ महाराजधिराज’सम्बोधन गरिएको लेटरप्याड प्रयोग गरेको भन्दै गत असारमा पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्र पाठकसँग प्रहरीले सोधपुछ गरेर त्यसरी सम्बोधन गरिएको लेटरप्याड प्रयोग नगर्ने सर्तमा पाठकलाई छाडेको थियो ।

विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’

यसपटकको दसैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।