रोमाञ्चक खेलमा यूएईमाथि नेपालको १ रनको जित

रोमाञ्चक खेलमा यूएईमाथि नेपालको १ रनको जित

दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङ



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालका दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध १ रनकाे रोमाञ्चक जित दर्ता गरेको हाे ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो ।

अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो । दीपेन्द्रले चौंथो बलमा क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।