उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिँदै

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिँदै



काठमाडौं । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

यतिबेला छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरुले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका हुन् ।

छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाडौं उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ । छठको मुख्य दिन हिजो देशभरी सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ ।