राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिएर मतदाता नामावली संकलन

राष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक लिएर मतदाता नामावली संकलन



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय परिचयपत्र (नेसनल आईडी कार्ड)बाट बायोमेट्रिक लिएर अनलाइन मतदाता नामावली संकलनका निम्ति थप सहज बनाइने बताएका छन् ।

बिहीबार ‘जेनजी’ प्रतिनिधिसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी गराएका हुन् ।

उनले हाल धेरै नागरिकले नेसनल आईडी कार्ड बनाइसकेकाले त्यसबाट थप सहज हुने विश्वास लिइएको बताए । नेसनल आईडी कार्ड बनाइसकेका नागरिक भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्दा बायोमेट्रिक त्यसबाटै लिइने उनले उल्लेख गरे ।

यसबाट जेनजीका माग सम्बोधन हुने आयोगको विश्वास रहेको भण्डारीले बताए । “अहिले हाम्रो नेसनल आईडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ,” उनले भने, “त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्दछ ।”

अध्ययन वा कामका निम्ति विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फाराम भर्न सक्ने उनले जानकारी दिए ।

“अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कूटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ,” उनले भने, “उहाँहरूले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरूले अनलाइनमा फाराम भर्नुभयो भने नेसनल आईडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।”

उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको बताए । पछिल्लो समय भने धेरै चाप रहेको उनले सुनाए ।