काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता आउँदो माघ ६ गतेलाई तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । त्यही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने छ ।
आयोगले निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन तीन दिनको समय दिएको छ । आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको हो ।
मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उमेदवारको बन्दसूची पेस गर्ने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।


प्रतिक्रिया