ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखको क्षति

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखको क्षति



फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढि राजकुमार ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र बिष्णुप्रसादको पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट इन्द्रकुमार घरमा डेरा गरी बस्नु भएका दोर्ची शेर्पाको २५ मन अलैँची समेत जलेर नष्ट भएको छ । आगलागीबाट नै दुई ओटा मोटरसाइकल, सुनचाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक कागजात समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

रातको समय भएकाले कुनैपनि सामग्री निकाल्न नपाएको र नियन्त्रणका लागि दमकल पानीको समेत अभाव भएकाले बढि क्षति भएको स्थानीयको भनाइ छ । आगो बिहान साढे ५ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।