चितवनलाई पराजित गर्दै सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा

चितवनलाई पराजित गर्दै सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक उपविजेता सुदूरपश्चिम रोयल्स शीर्ष दुईमा पर्दै क्वालिफायरमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकालेर शीर्ष दुई स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमै अलआउट भयो । लगातार छैटौं जित निकालेको शीर्ष स्थानको सुदूरपश्चिमले १२ अंक जोडेको छ ।

सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यसअघि आजै काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान बनाएको थियो । यससँगै सुदूरपश्चिम, काठमान्डु र विराटनगरी चार टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् ।

अब एक स्थानको लागि चितवनसँगै, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको सम्भावना हुनेछ । लुम्बिनी लायन्सले भोलि जनकपुर बोल्ट्सलाई पराजित गरे प्लेअफमा पुग्नेछ भने चितवनसँगै पोखरा एभेन्जर्स र जनकपुर बाहिरिनेछन् ।

चितवनले अन्तिम खेलमा पोखरासँग र जनकपुरले अन्तिम खेलमा कर्णालीसँग खेल्नेछ । लुम्बिनी हारेको अवस्थामा यी टोलीले प्लेअफमा पुग्न जित निकाल्नु पर्छ ।

आजकाे खेलमा सुदूरपश्चिमले दिएकाे १ सय ७० रनकाे लक्ष्य पछ्याएकाे चितवन १७ ओभर १ बलमा १ सय २० रनमा अलआउट भयाे ।

चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा, इसान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए ।