गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरकाे भेट

गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरकाे भेट



काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।

भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।

सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे ।

सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए ।