काठमाडौं । विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आउँदो ५ वर्षमा भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ ।
अमेजनका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालले कम्पनीले ३५ अर्ब डलरभन्दा धेरैको लगानीमार्फत सञ्चालन विस्तार गर्ने र कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) क्षमताहरूलाई सुदृढ पार्ने योजना बनाएको बताएको बीबीसीले जनाएको छ ।
यस वर्ष ठूला अमेरिकी प्रविधि कम्पनीहरूले भारतमा अर्बौं डलर लगानी गर्ने घोषणा गरेका छन् । एक दिनअघि मात्र माइक्रोसफ्टले सन् २०३० सम्ममा एआई र क्लाउड पूर्वाधारमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने वाचा गरेको थियो, एशियामा माइक्रोसफ्टको सबैभन्दा ठूलो लगानी हुनेछ । यस्तै गुगलले आउँदो ५ वर्षमा एआई डाटा सेन्टरहरू निर्माण गर्न १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेजनले एशियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन आफ्नो लगानी रहेको बताएको छ । अमेजनले विगत १० वर्षमा भारतीय बिक्रेताहरूको निर्यातमा २० अर्ब डलरभन्दा धेरै आम्दानी गर्न मद्दत गरेको बताएको छ । २०३० सम्ममा यसलाई बढाएर ८० अर्ब डलर पुर्याउने योजना छ । कम्पनीले २०३० सम्ममा देशमा १० लाख थप रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य पनि राखेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेजनले २०१० देखि भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ । २०२३ सम्ममा अमेजनले भारतमा आफ्नो उपस्थिति विस्तार गर्न २६ अर्ब डलर लगानीको घोषणा गरेको थियो ।


प्रतिक्रिया