गाउँमै उद्योग स्थापना भएपछि धनकुटाको महालक्ष्मीका किवी उत्पादन गर्ने किसानलाई राहत

गाउँमै उद्योग स्थापना भएपछि धनकुटाको महालक्ष्मीका किवी उत्पादन गर्ने किसानलाई राहत



धनकुटा । गाउँमा नै किवी खपत गर्ने उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किवी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले १० करोड लागतमा पाँच सय टन किवी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको हो ।

ठूलो किवी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किवी बजारमा नबिक्ने समस्या हुन्छ । तर अहिले उद्योगले ती सबै खालका किवी खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिए ।

प्रतिकिलो ५० देखि ८० सम्ममा उद्योगलाई किवी बेच्दै आएको उनले बताए । किवी पकेट क्षेत्र घोषणापछि वडाका तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् ।

किवीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका झन्डै एक सय किवी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिए ।