काठमाडौं । अहिलेसम्म साढे ४७ लाख जनाभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकले नारायणहिटी दरबार सङ्ग्रहालयकाे अवलोकन गरेका छन् । स्थापनादेखि गएको मङ्सिर मसान्तसम्म ४७ लाख ७७ हजार सात सय जना स्वदेशी तथा विदेशी पर्यटकले सङ्ग्रहालयकाे अवलोकन गरेका हुन् ।
शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा परिणत गरिएको हो ।
२०६५ साल असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत् रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयका रूपमा उद्घाटन गरे पनि त्यही वर्षको फागुन १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, नेपालीलाई दुई सय, सार्क राष्ट्रका नागरिकलाई पाँच सय र विदेशी नागरिकलाई एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।
सङ्ग्रहालय हप्ताको मङ्गलवार, बुधवार बन्द रहने गरेकाे छ भने शनिवारसहित अन्य बिदाका दिनमा भने खुला रहन्छ ।


प्रतिक्रिया