काठमाडौं । काठमाडौं उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । हिजो बिहान बादल लागेकाले चिसो केही कम थियो । आज भने आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिजो बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज ५.४ डिग्री सेल्सियसमा झरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो पनि तराई भूभागका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया