पार्टीको ‘कम्युन’मा प्रहरीले ‘अपरेशन’ चलाएको भन्दै विप्लवको आपत्ति

पार्टीको ‘कम्युन’मा प्रहरीले ‘अपरेशन’ चलाएको भन्दै विप्लवको आपत्ति



काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो ‘कम्युन’मा प्रहरी अपरेशन चलाएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको कम्युनमा प्रहरीहरूले अपरेशन चलाएको बताए । “हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेशन भयो,” विप्लवले भने ।

“हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौँ,” विप्लवले भने, “र, चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि ।”

सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने उनको चेतावनी छ । सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो ।

सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।