नेकपाको समानुपातिकमा पूर्वसांसद र मन्त्रीलाई ‘नो इन्ट्री’

नेकपाको समानुपातिकमा पूर्वसांसद र मन्त्रीलाई ‘नो इन्ट्री’


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोटमा कडा र नौलो मापदण्ड अपनाएको छ । पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कुनै पनि नेतालाई यसपटकको समानुपातिक बन्दसूचीमा समावेश नगर्ने निर्णय गरेको हो ।

समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन (आज) बिहान पार्टी शीर्ष नेतृत्वबीच भएको छलफलले पुराना अनुहारलाई विश्राम दिँदै पूर्ण रूपमा नयाँ अनुहारलाई अवसर दिने सहमति गरेको हो । यसअघि प्रत्यक्ष वा समानुपातिक दुवै तर्फबाट निर्वाचित भइसकेकाहरूलाई यसपालि सिफारिस गरिने छैन ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले यही नयाँ मापदण्डका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाइरहेका छन् । पुरानालाई नदोहोर्याउने नीतिले उम्मेदवार छनोट र सूची तयार पार्न नेतृत्वलाई सहज भएको नेकपाका एक नेताले बताए । समानुपातिक सूचीमा सबै नयाँ अनुहार पठाउने निर्णय गर्नेमा आफ्नो पार्टी मात्रै रहेको दाबी नेकपाले गरेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ७ जना सांसद निर्वाचित भएका थिए ।