तिङ्गलावासी पहिलो पटक मतदानमा सहभागी हुँदै

तिङ्गलावासी पहिलो पटक मतदानमा सहभागी हुँदै

२ हजार ८ सय २८ मतदाता रहेको तिङ्गलाबाट नेकपा एमालेले मोहनकुमारी कार्कीलाई उपमेयरमा उठाएको छ भने वडाध्यक्षमा मानबहादुर कटुवाल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले टंकबहादुर कार्की, नेकपा माओवादी केन्द्रले मदन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीले मोहन खड्कालाई उम्मेदवार बनाएको छ भने हर्कबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


ग्लोब नेपाल
913.2k
Shares

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको तिङ्गलावासी पहिलो पटक मतदानमा सहभागी हुँदैछन् । आफूलाई नेचासल्यान गाउँपालिकाको वडा नं. ६ मा समावेश गरेको विरुद्धमा आन्दोलित भएका तिङ्गलावासीले यसअघिको स्थानीय र संघीय निर्वाचन बहिष्कार गरेका थिए ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीको सीमानामा रहेको तिङ्गलालाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेपछि गाउँपालिकाको सदरमुकाम टाढा भएको र पालिका लिने सेवा सुविधाका लागि जान आउनसमेत समस्या हुने भएपछि तिङ्गलावासी आन्दोलित भएका थिए ।

नेपालको निर्वाचन इतिहासमा एउटा सिंगो गाउँले चुनाव बहिष्कार गरी आन्दोलन गरेको घटना पहिलो हो । आफूले गरेको आन्दोलनलाई सरकारले २०७५ साल असार महिनामा सम्बोधन ग-यो । तिङ्गलालाई सोलु दुधकुण्ड नगरपालिकामा वडा नं. ११ मा समावेश गरेपछि संविधान जारी भएयता तिङ्गलावासी पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछन् ।

३ हजार ९ सय २४ जनसंख्या रहेको तिङ्गलामा पाँचवटा मतदान केन्द्र छन् । २ हजार ८ सय २८ मतदाता रहेको तिङ्गलाबाट नेकपा एमालेले मोहनकुमारी कार्कीलाई उपमेयरमा उठाएको छ भने वडाध्यक्षमा मानबहादुर कटुवाल उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले टंकबहादुर कार्की, नेकपा माओवादी केन्द्रले मदन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीले मोहन खड्कालाई उम्मेदवार बनाएको छ भने हर्कबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पहिलो पटक मतदान गर्न तिङ्गलावासी उत्साहित रहेको नेपाली कांग्रेसका वडासभापति तथा तत्कालिन मतदान बहिष्कारका संयोजक बालकुमार कार्कीले बताए । नेपाली कांग्रेसको उर्बर भूमि रहेकाले उक्त क्षेत्रमा कांग्रेस विजयी हुने दाबी कार्कीले गरे ।

प्रजातन्त्र प्राप्तिका लागि चर्चित टिम्बुरबोटे काण्ठ यसै वडाको झरेनी कोरेनी जंगलको ओडारमा भएको थियो । जहाँ नेपाली कांग्रेसका राम लक्ष्मण र महेश कोइरालालगायत १३ जनाले शाहदत प्राप्त गरेका थिए ।