काठमाडौं । ओखलढुंगामा श्रृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चिशंखुगढी–६ भदौरे गैरीगाउँका शोभितमान थापामगर र उनकी श्रीमति रत्नमाया थापामगरको विभत्स हत्यामा संलग्न रहेको आरोपमा संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल पक्राउ परेपछि ओखलढुंगामा श्रृङ्खलाबद्ध हत्या र लुटपाटको रहस्य सार्वजनिक भएको हो ।
उनीहरुले गत पुस १५ गते साँझ ८ बजेतिर भदौरे गैरीगाउँस्थित शोभितमान किराना पसल सञ्चालन गरी बसेका ६० वर्षीय थापामगर र उनकी श्रीमति दुवैजनालाई कोदालो तथा अन्य धारिलो हतियारकन्चट र कानको भागमा प्रहार गरी विभत्स हत्या गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को भनाइ छ । उनीहरुले हत्यापश्चात दम्पत्तीको शब गोठमा लगी स्याउलाले छोपी पसल तथा कोठामा रहेको एक लाख नगद र २ तोल सुनको गरगहना र ६ तोला काँचो सुनसमेत लुटपाट गरेको प्रहरीले बताएको छ ।
सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पश्चात सो घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरुले नै सिद्धिचरण नगरपालिका–४ चार्खुमा खेती किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्नकुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।
उनीहरु अन्य घटनामा पनि संलग्न रहेको आशंकामा थप अनुसन्धान अघि बढाइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले बरामद गरेको हत्यामा प्रयोग भएको हतियार



प्रतिक्रिया