मुलुकको सबैभन्दा पुरानो र लोकतन्त्रप्रति प्रतिवद्ध दल नेपाली कांग्रेस यतिबेला इतिहासकै अर्को एक संगीन घडीमा छ। विक्रम संवत २००३ सालमा नेपाली कांग्रेस दुई दलबीचको एकीकरणबाट जन्मिएको हो। त्यो बेला वीपी कोइरालाले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशम्सेर राणाले नेतृत्व गरेको नेपाल डेमोक्रेटिक कांग्रेसबीचको एकताबाट नेपाली कांग्रेसको जन्म भयो र वीपी कोइराला पार्टीको संस्थापकसहित पहिलो सभापति बन्नुभयो।
यसरी दुई दलको एकताबाट बनेको नेपाली कांग्रेसले आफ्नो ७५ वर्ष लामो राजनीतिक जीवनमा धेरै उतारचढाव र चुनौतीहरुको सामना गर्दै आजको अवस्थामा आइपुगेको छ। स्थापनाको चार वर्षपछि विक्रम संवत २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षसम्म शासन गरेको निरङ्कुश राणा शासनको अन्त्य गरेर प्रजातन्त्रको दियो बालेको गौरव कांग्रेससँग छ।
तर दश वर्ष नपुग्दै राजा महेन्द्रले २०१७ पुष १ मा प्रजातन्त्रको हत्या गरे। पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायत सबै नेताहरुलाई जेल हाले र आफ्नै नेतृत्वमा निरङ्कुश पंचायती शासन व्यवस्था सुरु गरे। त्यसको ३० वर्षपछि फेरि नेपाली कांग्रेसकै नेतृत्वमा चाक्सीबारीमा लौह पुरुष गणेशमान सिंहको निवासबाट जनान्दोलनको घोषणा भयो र २०४६ सालको अन्त्यमा ३० वर्षे पंचायती शासन पनि ढल्यो। देशमा प्रजातन्त्रको पुनर्वहाली भयो।
निजी क्षेत्रको प्रवेशले देशमा विकास यात्रा सुरु भयो ।बिजुली, सडक, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा निरन्तर प्रगति हुँदै गयो। तर माओवादी हिंसाको चक्रव्यूहमा देश फस्यो। यो हिंसाको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था सुरु गर्न पुन: कांग्रेसले नै नेतृत्व लियो र माओवादीलाई १२ बुँदे सहमतिमार्फत् शान्तिप्रक्रियामा ल्याउनका लागि गिरिजाप्रसाद कोइरालाले निर्णायक पहलकदमी लिनु भयो।
अँ, १२ बुँदे शान्ति सम्झौताको पृष्ठभूमिमा नयाँ दिल्लीमा गिरिजाप्रसाद कोइरालाले लिएको अग्रसरता र त्यसको आधार तयार हुँदै गर्दाको विषयको एक प्रत्यक्षदर्शीको रुपमा मैले देखेका ती दौडधुपलाई अर्को कुनै प्रसंगमा सविस्तार लेख्ने नै छु। तैपनि अहिले यति मात्र उल्लेख गरौ- नयाँ दिल्लीको जेएनयु विश्व विद्यालयका प्राध्यापक सुखदेव (एस डी) मुनि, जनरल अशोक मेहता, सीताराम येचुरीलगायतले गिरिजाप्रसाद कोइरालासँग गरेको निरन्तरको भेट र छलफल अनि तत्कालीन समयमा माओवादीका डाक्टर बाबुराम भट्टराईको दौडधुप र कोइरालाको साथमा रहेका डाक्टर रामवरण यादब, महन्थ ठाकुर, कृष्ण सिटौला, डाक्टर शेखर कोइराला, सुजाता कोइरालालगायतका नेताहरुसँगको बसउठमा थाहा पाएका विषयहरु र प्रदीप गिरीसहितका बौद्धिक नेताहरुले दिएको ज्ञानगुणको विषयलाई अर्को सन्दर्भमा लिपिबद्ध गरौंला।
जे होस् हिंसाको अन्त्य भयो, माओवादीले हतियार बिसायो, मुलुकमा गणतन्त्र आयो, नयाँ संबिधान बन्यो। जे जति परिवर्तन भयो र जतिपटक संविधान बनेको छ त्यो सबैको नेतृत्व नेपाली कांग्रेसले नै लिएको छ। यो कांग्रेसको गौरवशाली इतिहास हो। यस अर्थमा कांग्रेस मुलुकको सबैभन्दा जिम्मेवार राजनीतिक दल हो र हरेक निर्णायक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको छ।
देशलाई सही मार्गमा डोर्याउने र विकासको रथ हाँक्ने कांग्रेस यतिबेला आफैंभित्र हराईरहे जस्तो छ। हरेक परिवर्तनको नेतृत्व गर्ने कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउने विषयमा आफैं कमजोर देखिएको छ। नीति छ, नेतृत्व छ, अनुभव छ, मुलुक, लोकतन्त्र र जनताको नैसर्गिक अधिकारका लागि लडेको र कसैसँग सम्झौता नगरेको कांग्रेस अहिले आफैंसँग लडिरहेको छ। दुर्भाग्य ! सबैको चिन्ता छ राम-राम कांग्रेसमा फेरि के हुन लागेको हो ? यो चिन्ता कांग्रेसजनलाई मात्रै छैन, कांग्रेसइतरलाई पनि छ किनकी उनीहरुले प्रष्ट बुझेका छन् कांग्रेस कमजोर हुँदा लोकतन्त्रको मियो हल्लिन्छ र अधिनायकवाद र निरङ्कुश शासकले अँध्यारो कुनाबाट शीर उचाल्ने मौका पाउँछ। त्यसैले कांग्रेस बलियो हुनुपर्छ। आन्तरिक बेमेललाई व्यवस्थापन गरेर बलियो कांग्रेस अगाडि आउनुपर्छ।
के फेरि फुट्न लागेको हो कांग्रेस ?
बहुलवादमा विश्वास गर्ने कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छ। अरुको अधिकारको रक्षाका लागि लडेको कांग्रेस आफूभित्रको आन्तरिक जीवनमा सधैं नवीन रक्तसंचारको खोजी गर्छ। विमतिभित्र सहमति, अनेकताभित्र एकता, भिन्न मतहरुको सम्मान, सबै विचार र भावनाहरुको मन्थनपछि एक ठोस निर्णय कांग्रेसको आन्तरिक जीवनको सुन्दर पक्ष हो। जसरी दही मथेर नौनी र मोही बनाइन्छ त्यसैगरी भिन्न-भिन्न विचार र तर्कहरुको संयोजन गरेर एक सिंगो र बलियो कांग्रेस बनाइन्छ। हिजोका दिनमा मेरो पुस्ताले देखेको निकट इतिहास साक्षी छ- त्रिदेवको रुपमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सामुहिक नेतृत्वले कांग्रेसलाई सबैभन्दा बलियो शक्तिको रुपमा स्थापित गरेको थियो। भिन्न विचारको सम्मान लोकतन्त्र र लोकतान्त्रिक दलमा मात्र सम्भव छ। त्यसैले लोकतन्त्रको पहरेदार मानिएको नेपाली कांग्रेसभित्र भिन्न विचार र तर्क आउनासाथ पार्टी फुट्ने हो कि भन्ने चिन्ता देखिनु स्वभाविक जस्तो लागेता पनि कांग्रेसको आन्तरिक जीवनलाई यसले अझ मजबुत बनाउनेछ। त्यसले पार्टीलाई अझ परिस्कृत बनाउनेछ र नेपाली कांग्रेस समय सापेक्ष निर्णय गरेर अघि बढ्नेछ भने सन्देश आम देशवासी र यसका शुभेच्छुकहरुलाई दिनेछ। त्यसैले अहिले एक अप्ठ्यारो परिस्थिति देखिएता पनि यति चाहिं ढुक्क भएर भन्न सकिन्छ, अहँ पार्टी फुट्दैन, किनकी फुट र विभाजनको पीडा कांग्रेसले यस पहिले नै भोगिसकेको छ र यसका नेताहरुले फेरि त्यस्तो गल्ती दोहोर्याउने छैनन्।
बानेश्वरमा शेरबहादुर देउबालाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति घोषणा गरेर त्यो भेला सकियो। समयको खेलमा त्यो बेला सभापति बन्न नगएका रामचन्द्र पौडेल कांग्रेस एकीकरणपछि दोश्रो कार्यकालका लागि निर्वाचित भएका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित भएर अहिले जिम्मेवारीमा हुनुहुन्छ।
यहाँनिर यी तीन नेताका भनाई उल्लेख गरौँ। ‘म कुनै हालतमा पार्टी विभाजन भएको हेर्न सक्दिन, फुट्न दिन्न’, सभापति शेरबहादुर देउवा।’ ‘त्यस्तो अवस्था आएछ भने बरु म विष पिउँछु, पार्टी फुट्न दिन्न’ महामन्त्री गगन थापा। ‘पार्टी फुट्ने अवस्था आयो भने सबैभन्दा पहिले म त्यो हलबाट बाहिर निस्कन्छु’ अर्का महामन्त्री विश्वप्रकाश शर्मा। अर्थात् पार्टी फुट्दैन, फुट्नु हुन्न। पार्टी विभाजनको सबैभन्दा बढी पीडा र अनुभव त वर्तमान सभापति शेरबहादुर देउवासंगै छ। त्यसैले उहाँ विभाजन हेर्न सक्दिन भनिरहनु भएको छ। विशेष महाधिवेशनको पक्षमा उभिएका महामन्त्रीद्वय कांग्रेसलाई नवीन ऊर्जा र विचारसहित नयाँ संकल्प लिएर चुनावमा जाने गरी आफुहरु अघि बढ्न चाहेको भन्दै विभाजनको चिन्तामा गम्भीर नहुन बोलिरहेका छन् भने ढुक्क किन नहुने ? कुनै पनि बहानामा पार्टी फुट्दैन, फुट्नु हुन्न र फुटाउने गल्ती पनि कसैले गर्नुहुन्न।
हलाहल विष पिउँ, क्षिर सागरबाट अमृत निकालौं
दुर्वासा ऋषिको श्रापपछि स्वर्गमा दैत्य राज बलीले शासन सुरु गरेको र देवताहरुलाई दु:ख दिन थालेको किम्बदन्ती तपाईंले पनि पढ्नु भएको होला। पृष्ठभूमिमा जे भए पनि अन्तत: भगवान विष्णुले सुझाए, दैत्यहरुसँग मिलेरै समुद्र मन्थन गर्ने र बासुकी नागलाई नेती र मन्दराचल पर्वतलाई मथानी बनाएर क्षिर सागरलाई मथ्ने अनि त्यहाँबाट अमृतको उत्पति हुने र त्यो अमृत पिएर देवताहरुले दैत्यहरुसँग युद्ध गरी युद्ध जितेर पुन: स्वर्गमा शासन गर्ने। सोही अनुसार नै देवताहरुले दैत्य राज बलीलाई सहमत गराए र क्षिर सागर मथेर अमृत निकाली पिए। तत्पश्चात मन्दराचल पर्वत समुद्रमा डुब्न लाग्यो। बासुकी नाग नेती, मन्दराचल पर्वत मथानी र क्षिर सागर मथेर अमृत मात्र निस्केन विभिन्न १३ रत्न पनि उत्पति भयो।
तर मथानी बनेको मन्दराचल डुब्दै गर्दा भगवान विष्णुले कछुवाको रुप धारण गरी आफ्नो पिठ्यूँमा मन्दराचल पर्वतलाई अड्काए र त्यो अमृत निकाल्ने क्रममा सबैभन्दा पहिले हलाहल नामको विष उत्पति भयो। जुन विषलाई भगवान शिवले सबै पिईदिनु भयो र देवताहरुको उद्धार गरिदिनु भयो। जुन विष पिएपछि भगवान शिवको घाँटी नीलो भयो। त्यही कारण भगवान शिवलाई निलकण्ठ भगवानको नामबाट समेत पुजिन्छ।
यो एक पौराणिक शास्त्रको प्रसंग हो। तर यतिबेला कांग्रेस क्षिर सागर मथ्दै गर्दा अमृत निकाल्नु पूर्वको अवस्थामा छ। अब पक्कै हलाहल विष निस्कने समय भएको छ। यो अवस्थामा कांग्रेसलाई अमृत निक्लने अवस्थामा पुर्याउनका लागि भगवान शिव चाहिएको छ जसले हलाहल विष स्वाट्ट पिएर आम कांग्रेसजनको चिन्तालाई निमिट्यान्न पारिदियोस् र सबैले अमृत पिउने र पुनर्जीवन पाउने बाटो खोलिदियोस्। हामीलाई चाहिएको अहिले निलकण्ठ भगवान हो। यस सन्दर्भमा महामन्त्री गगन थापाकै भनाई सान्दर्भिक होला – ‘पार्टी विभाजन हुने अवस्था आयो भने बरु म विष पिउँछु, पार्टी विभाजन हुन दिन्न।’ अर्थात् त्यो अवस्थामा गगन थापाले हलाहल विष पिएरै पनि कांग्रेस एकताबद्ध राख्नुपर्छ। अनि निस्कन्छ क्षिर सागरबाट अमृत।
कांग्रेस फुटको त्यो पीडादायक क्षण
२०५९ मा कांग्रेस विभाजित भो। जहाँ रुख र चारतारा त्यहीं कांग्रेस भनेर अल्लारे किशोरवयमा पनि हामी विभाजनको पक्षमा नलागी बस्यौं। किन फुट्यो र २०६४ अगाडि पुन: किन जुट्यो भन्ने प्रसंग अब उति जानकारीमा नरहेको विषय भएन। शेरबहादुर देउबाले संसद विघटनको निर्णय गलत थियो भन्ने महसुस गर्ने र सभापति गिरिजाप्रसाद कोइरालाले साधारण सदस्यता निलम्बन गरेको निर्णय फिर्ता लिने सहमति नमिल्दा पार्टी फुट्यो।
नेताहरु तितरवितर भए, को कता, को कता भए। देउबा पक्षले अस्ती भर्खर आगजनी गरिएको वीरेन्द्र अन्तर्राष्ट्रीय सम्मेलन केन्द्रमा आफ्ना समर्थकहरुलाई जुटाईसकेका थिए। उता महाराजगंज र कांग्रेस मुख्यालय टेकुमा संस्थापन पक्षीय नेताहरुको चिन्ता पनि त्यत्तिकै थियो। हल्ला व्यापक थियो, शेरबहादुर देउबा आफैं सभापति नबन्ने भन्ने हल्ला चलिरहेको थियो। देउबाले रामचन्द्र पौडेललाई सभापति बनाएर पार्टी विभाजन गर्ने हल्लाले राजधानी हल्लिएको थियो। सोही अनुसार पौडेलले पनि आफ्ना पक्षका समर्थकहरुलाई बानेश्वरको भेलामा जान उर्दी जारी गरिसकेका रहेछन् र नेताको उर्दी मानेर तनहुँतिरका मात्र होइन देशका अन्य जिल्लाबाट आएका पौडेल निकट कतिपय नेताहरु बानेश्वर भेलामा छिरिसकेका रहेछन्।
त्यो बेला म दाई मित्रसेन दाहालसँग सँगै काम गर्थें जेपी प्रतिष्ठानमा, अनि मेरो कार्यकक्षमा एउटा फ्याक्स मेशिन थियो प्रतिष्ठानको छुट्टै। डिल्लीबजारभित्रको गल्लीमा एनपीटीसी नामको सहकारी प्रेस पनि थियो। दुवै संस्थाको नेतृत्व मित्रसेन दाई नै गर्नु हुन्थ्यो। त्यो प्रेसमा नेपाली कांग्रेसका धेरै दस्तावेज छापिएका छन् र २०५६ सालको आम निर्वाचनका बेला त अधिकांश कांग्रेस उम्मेदवारको प्रचार सामाग्री नै त्यहीं छापिएको सप्रमाण छ। त्यस्ता प्रचार सामाग्रीको सम्पादन र शुद्धिकरणमा म आफैं प्रत्यक्ष काम गरेको छु।
यता महाराजगन्ज र बानेश्वर भन्ने हल्लाखल्लाले हामी पनि चिन्तित नै थियौं पार्टी फुट्ने भो भनेर। तर हाम्रो चिन्ताले रोकिने केही थिएन। सबै अगाडि बढिसकेका थिए। देउवा पक्षबाट सभापतिमा प्रस्तावित रामचन्द्र पौडेल एक्कासी गिरिजाप्रसाद कोइरालाको महाराजगन्ज निवासमा पुगेको हल्ला आयो। देउवा रामचन्द्रलाई लिएर बानेश्वर जाँदै छन् भनेर बानेश्वरमा नाराबाजी भैरहेको बेला रामचन्द्र पौडेल देउबालाई छलेर कोइराला निवास महाराजगन्ज पुग्नु वास्तवमै अप्रत्यासित थियो। केही क्षणपछि रामचन्द्र पौडेलले मित्रसेन दाईलाई फोन गर्नु भो त्यहीं हामी बसिरहेको प्रेसमा। शायद बीरेन्द्र दाहाल वा अरु कोही हुनुहुन्थ्यो फोनमा। रामचन्द्र दाईसँग मित्रसेन दाइको मोबाइल फोनमा कुरा भयो र हतार-हतार काम गरेर म पठाउँछु भनेर मित्रसेन दाइले फोन संवाद सक्नुभयो। त्यसपछि हरि दाईलाई भनेर प्रेसमा सबै तयारी गर्न अह्राउनु भयो।
मलाई महाराजगन्जबाट रामचन्द्र दाईको हस्तलिखित फ्याक्स आउँदैछ त्यो तुरुन्त लिएर आउ भनेपछि म मेरो कार्यकक्षमा गएँ। नभन्दै हस्तलिखित सानो नोटसहितको फ्याक्स आयो। त्यो फ्याक्सको कपी अझै पनि मैले नेपालमा सुरक्षित नै राखेको छु। मेरो सम्झनामा त्यहाँ रामचन्द्र पौडेलको हस्तलिखित व्यहोरा छ र मित्रसेन दाईलाई सम्बोधन गरिएको थियो। ‘प्रिय मित्रसेनजी, जय नेपाल। फोनमा कुरा भए अनुसार मेरो सन्देश पठाएको छु, यसलाई प्रिन्ट गरेर सकेसम्म चाँडो बानेश्वरतिर र पार्टी कार्यालय टेकूमा वितरण गर्न पठाई दिनु। उही तपाईंको रामचन्द्र पौडेल।
‘यत्ति र यस्तै व्यहोराको सन्देशसहित उहाँले आफू पार्टी विभाजनको भागीदार बन्न नसक्ने भन्दै एकताको पक्षमा उभिने प्रण गरेको सन्देशसहितको अर्को प्रिन्ट गर्नुपर्ने सामाग्री फ्याक्स गर्नु भएको थियो। त्यो सन्देश फटाफट टाइप गरेर हामीले प्रेसमा छ्पायौं र मित्रसेन दाईको गाडीमा त्यो सन्देश सामाग्री बोकेर म सिधै बानेश्वरतिर हुँइकिए। सानो कार थियो। बानेश्वरको त्यही सभाहलको पश्चिमपट्टिको प्रवेशद्वार (त्यो बेला लक्ष्मी दिदीको पसल भएतिरको साइड) मा व्यापक नाराबाजी थियो। शान्तिलाल अधिकारीले गाडी चलाएका थिए। म एक्लै थिएँ। रामचन्द्र पौडेल आउँदैछन् भन्ने हल्ला कायमै थियो। त्यही बेला गाडीबाट निस्केर मैले त्यो भीडमा रामचन्द्र पौडेलको सन्देशको त्यो प्रिन्ट कपी फालिदिए। अब त्यो भीडमा हातपात हुने भो भन्ने डरले मुटु काँप्न थालिसकेको थियो।
शान्तिलाई गाडी त्यही लक्ष्मी दिदीको पसल अगाडिबाट पुरानो बानेश्वर खरीको बोट जाने बाटोतिर रोक्न लगाएको थिएँ। जति सकिन्छ त्यो पर्चा त्यहाँ छरेर भाग्दै म गाडीमा पुगें र दोश्रो गन्तव्य टेकुमा रहेको पार्टी कार्यालय थियो। बाँकी पर्चासहित म टेकुमा पुगें। ‘गिरिजाप्रसाद कोइराला, सभापति बाहिर’ लेखेको कोठासँगै जोडिएको अर्को कोठामा धेरै नेताहरु त्यही पर्चा पर्खेर बस्नु भएको थियो। हतार हतार गरेर सबै कहानी बताएर पर्चा छाडेर म डिल्लीबजार फर्केपछि मात्र ढुक्क भएँ। मित्रसेन दाइले जिस्क्याउनु पनि भयो कतै कुटाई त खाएनौ नि भनेर। मैले कुटाई नखाए पनि त्यो विभाजनको पीडा चाहिं कुटाइभन्दा बढी महसुस भो।
त्यसपछि बानेश्वरमा शेरबहादुर देउबालाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति घोषणा गरेर त्यो भेला सकियो। समयको खेलमा त्यो बेला सभापति बन्न नगएका रामचन्द्र पौडेल कांग्रेस एकीकरणपछि दोश्रो कार्यकालका लागि निर्वाचित भएका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित भएर अहिले जिम्मेवारीमा हुनुहुन्छ।
यसपटक आशा र कामना गरौं त्यो खाटा बसिसकेको पुरानो घाउ बल्झिने छैन र कांग्रेस विभाजन हुने छैन।
कांग्रेस सबै पुस्ताको घर हो। कांग्रेस एकाघरको परिवार हो। सबै अट्ने देश, सबै अट्ने कांग्रेस। सबै पुस्ताले अपनत्व महसुस गर्ने कांग्रेस बनाउनु पर्छ। बदलिएको कांग्रेस, आन्तरिक एकता, मेलमिलाप र हार्दिकताको बलियो कांग्रेस आजको आवश्यकता हो।


प्रतिक्रिया