अन्तरिक्षबाट नासाले गर्‍यो मेडिकल इभ्याकुएशन

अन्तरिक्षबाट नासाले गर्‍यो मेडिकल इभ्याकुएशन



वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ ले इतिहासमा पहिलोपटक अन्तरिक्षबाट अन्तरिक्षयात्रीको ‘मेडिकल इभ्याकुएशन’ गरेको छ । सन् १९९८ मा पृथ्वीको कक्षमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन राखिएयता पहिलो पटक स्वास्थ्यका कारण फर्किने समयभन्दा एक महिना अगाडि नै अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काइएको हो ।

क्रू ११ मा गएका अन्तरिक्ष यात्रीहरू बिहीबार स्थानीय समयअनुसार बिहान क्यालिफोर्नियाको तटबाट ओर्लिएका छन् । क्रू का एक सदस्यमा देखिएको स्वास्थ्य समस्याका कारण यात्रा छोट्याइएको नासाको भनाइ छ ।

उसले बिरामी सदस्य वा स्वास्थ्य समस्याको प्रकृतिको बारेमा केही भनेको छैन । अवस्था स्थिर रहेको बताइएको छ । क्रू फर्किएपछि रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र अन्य दुई जनालाई आईएसएसलाई हस्तान्तरण गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्के र जेना कार्डम्यान, जापानकी किमिया युई र अन्तरिक्ष यात्री ओलेग प्लाटोनोभ अगस्ट १ मा आईएसएसमा आइपुगेका थिए ।

उनीहरू साढे ६ महिनाको बसाई सकेर फेब्रुअरीको मध्यमा मात्रै पृथ्वीमा फर्किने तय भएको थियो । गत हप्ता नासाले एक्कासि स्पेस वाक रद्द गरेको थियो । यसको केही घण्टा पछि नासाले क्रू का एक सदस्य बिरामी भएको बतायो । आईएसएसमा केही मेडिकल उपकरणहरू रहेका छन् । त्यहाँ रहँदा भइपरी आउने स्वास्थ्य समस्या डिल गर्ने गरी अन्तरिक्ष यात्रीहरूलाई तालिम पनि दिइएको हुन्छ । तर यहाँ डाक्टर हुँदैनन् ।

आईएसएसले २५० माइलको उचाइमा पृथ्वीको परिक्रमा गर्छ । प्रतिघण्टा १७, ५०० माइलको गतिमा घुम्ने यो स्टेसनले एक दिनमा पृथ्वीको १६ पटक परिक्रमा गर्छ । यो पाँच देशका अन्तरिक्ष एजेन्सीहरूद्वारा सञ्चालित छ । यहाँबाट अन्तरिक्ष र सूक्ष्म गुरुत्वाकर्षणमा बस्ने मानिस, जनावर र बोटबिरुवाहरूमा पर्ने प्रभावका बारेमा व्यापक वैज्ञानिक अनुसन्धान गरिन्छ ।