इरानमा भइरहेको हिसात्मक प्रदर्शनबारे राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपतकालीन बैठक सम्पन्न

इरानमा भइरहेको हिसात्मक प्रदर्शनबारे राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपतकालीन बैठक सम्पन्न



काठमाडौं । इरानमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनको विषयमा राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बसेको छ । अमेरिकाको अनुरोधमा १५ सदस्यीय परिषद्को बैठक बसेको हो ।

संयुक्त राष्ट्रसङ्घमा इरानका उप–स्थायी प्रतिनिधि घोलामहोसेन दार्जीले इरानले टकराव नचाहेको स्पष्ट पार्दै यदि अमेरिका वा कुनै पक्षबाट प्रत्यक्ष वा अप्रत्यक्ष आक्रमण भए त्यसको ‘कानूनी, अनुपातिक र निर्णायक’ जवाफ दिइने चेतावनी दिए ।

अमेरिका इरानभित्रको अशान्ति भड्काउन प्रत्यक्ष रूपमा संलग्न भएको आरोप पनि लगाए । अमेरिकी प्रतिनिधि माइक वाल्ट्जले भने इरानी सरकारले प्रदर्शनमाथि गरेको दमनको आलोचना गर्दै इन्टरनेट बन्द गरिएकाले वास्तविक अवस्था पुष्टि गर्न कठिन भएको बताए । उनका अनुसार इरानका नागरिक इतिहासमै सबैभन्दा बलियो रूपमा स्वतन्त्रताको माग गरिरहेका छन् ।

राष्ट्रसङ्घकी सहायक महासचिव मार्था पोबीले परिषद्लाई जानकारी प्रदर्शनहरू देशव्यापी आन्दोलनमा परिणत भई ठूलो सङ्ख्यामा जनधनको क्षति भएको बताए । मानव अधिकार अनुगमनकर्ताका अनुसार १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका अनुमान गरिएको छ ।

यसैबीच अमेरिकाले इरानका शीर्ष अधिकारीहरूमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । इरान लामो समयदेखि कडा आर्थिक प्रतिबन्धको चपेटामा रहँदै आएको छ, जसले आर्थिक सङ्कट गहिरो बनाएको र अहिलेको नागरिक आन्दोलनलाई थप उक्साएको विश्लेषकहरू बताउँछन् ।