काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरि सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरीलगायत नामले पुकारिन्छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ । तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन् ।
सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित ब्रह्माकी अर्धाङ्गिनी सरस्वतीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास छ । गान्धर्व पुराणमा आजको दिन विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म नगरिने जनाइएको छ । बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निले विद्या र बुद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
हनुमानढोका दरबारको नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नेछन् ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया