कराँचीस्थित सपिङ महल आगलागी घटनामा मृत्यु हुनेको संख्या ६७ पुग्यो

कराँचीस्थित सपिङ महल आगलागी घटनामा मृत्यु हुनेको संख्या ६७ पुग्यो


ग्लोब नेपाल
54
Shares

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ महलमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको अधिकारीहरूले बताएका छन् । सबै पीडितहरूको शव परीक्षण (पोस्ट–मार्टम) सम्पन्न भएपछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

मुख्य प्रहरी सर्जन सुमैय्या सैयद तारिकका अनुसार घटनाको पाँचौँ दिनसम्म कुल ६७ वटा शवको पहिचान र परीक्षण प्रक्रिया पूरा गरिएको छ । जसमध्ये ६ जनाको अनुहारको आधारमा, एक जनाको परिचयपत्र वा आंशिक अनुहारको आधारमा र आठ जनाको डीएनए परीक्षणमार्फत पहिचान भएको छ ।

सिन्ध स्वास्थ्य विभागका प्रवक्ताले सबै ६७ पीडितहरूको शव परीक्षण सम्पन्न भएको पुष्टि गरेका छन् । रेस्क्यु ११२२ का प्रवक्ता हसानुल हसिब खानले बताए अनुसार शहरी खोज तथा उद्धार टोलीले भग्नावशेषमुनि दबिएका पीडितहरू फेला पार्न थर्मल इमेजिङ क्यामेरा र लोकेटर जस्ता अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेका छन् ।

खानका अनुसार क्यामेराले १,२०० डिग्री सेल्सियससम्मको तापक्रम पत्ता लगाएका थिए । यद्यपि, सपिङ महल भित्रको वास्तविक तापक्रम त्योभन्दा पनि उच्च रहेकाले पीडितको अवशेषको अवस्था प्रभावित भएको छ । विगत तीन दिनदेखि भवनलाई चिस्याउने (कुलिङ) कार्य जारी रहेको उनले बताए ।

जीर्ण संरचनाका कारण खोज अभियानका क्रममा अधिकारीहरूले निकै सावधानी अपनाउनुपरेको र यसले उद्धार कार्यलाई चुनौतीपूर्ण बनाएको उनले उल्लेख गरे ।