बाल्टिमोर काउन्टीको महिला आयोगमा काफ्ले नियुक्त

बाल्टिमोर काउन्टीको महिला आयोगमा काफ्ले नियुक्त


ग्लोब नेपाल
0
Shares

बाल्टिमोर, अमेरिका। नेपाली मूलकी सिर्जना काफ्ले बाल्टिमोर काउन्टीको महिला आयोगको सदस्य नियुक्त भएकी छिन्। काउन्टी प्रमूख क्याथी क्लाजमायरले काफ्लेलाई शुक्रवार नियुक्त गरेकी हुन्। बाल्टिमोर नेपालीहरुको धेरै जनसंख्या भएको शहर पनि हो।

बाल्टिमोर काउन्टीको महिला आयोगको बोर्ड सदस्यमा नियुक्त हुने सिर्जना काफ्ले सम्भवत: पहिलो नेपाली मूलकी महिला हुन्। सन् २०१६ मा अमेरिका आएकी सिर्जना हाल आफ्नो परिवारसहित बाल्टिमोरमा बसोवास गर्दै आएकी छिन्। उनी नेपाल अमेरिका पत्रकार संघ- नेजाको दोश्रो कार्यकालका लागि डिसी मेट्रो क्षेत्रकी संयोजक समेत हुन्।

हिजो एक इमेल मार्फत सोही पदमा नियुक्त गरेको जानकारी इमेल मार्फत प्राप्त भएको काफ्लेले बताईन्। ‘ मैले हिजो इमेल पाएँ, यो कार्यकाल सन् २०२८ को डिसेम्वर अन्तसम्म रहने उल्लेख छ’ आयुक्त नियुक्त भए लग्गत्तई ग्लोब नेपाल प्रतिनिधिसंग कुरा गर्दै काफ्लेले भनिन्।

काफ्ले नेपालमा रहँदा वुमन फर ह्युमन राइट भन्ने संस्थामार्फत महिला मानव अधिकारको क्षेत्रमा क्रियाशील थिइन्। करीब डेढ दशक उनले एकल महिलाहरुको क्षमता अभिवृद्धि र सशक्तिकरणका लागि नेपालका ६५ भन्दा बढी जिल्लामा पुगेर काम गरेकी छिन्।

अमेरिका आएपछि उनी केही समय अधिकार नामक संस्थामा आवद्ध थिइन् भने पछि नेप्लिज वुमन ग्लोबल नेटवर्कको महासचिव भएर पनि काम गरिन्। यिनै पृष्ठभूमिका कारण पनि उनलाई महिला आयोगको आयुक्त पदमा नियुक्त हुन सहयोग पुगेको थियो। ‘मैले अन्तर्वार्तामा क्रममा आफुले विगतमा गरेका कामहरु र भावी दिनमा एक आयुक्तको रुपमा यहाँ बसेर गर्ने कामहरुका बारे आफ्नो सोच र योजना बताएकी थिएँ,आज नियुक्तिको जानकारी पाउँदा स्वाभाविक हो खुशी लागेको छ’ काफ्लेले भनिन्।