प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

आयोगको कार्यालयमा आज एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरेका हुन् । उनले चुनावका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा देखिन सक्ने समस्या तत्काल पहिचान गरि समाधान गर्ने गरि सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताए ।

भण्डारीकाअनुसार स्थानीयस्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरि समस्याको समाधान गर्नेछ । केन्द्रमार्फत चुनाव अवधिभर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको मूल्याङ्कन, जनशक्ति तथा स्रोत–साधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन हुने उनको भनाइ छ ।

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ ।