नुनढाकीमा जिप खस्दा मृत्यु भएको दुई जनाको परिचय खुल्यो

नुनढाकीमा जिप खस्दा मृत्यु भएको दुई जनाको परिचय खुल्यो


ग्लोब नेपाल
297
Shares

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित नुनढाकीमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चैनपुर बजारबाट बिहीबारेतर्फ यात्रु लिएर जाँदै गरेको बोलेरो जिप गन्तव्य नपुग्दै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरूमा चैनपुर नगरपालिका-१ मैदाने निवासी वीरबहादुर लिम्बु र सोही वडाको पैरे गाउँ बस्ने १७ वर्षीय अनिष थक्लुङ रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले दिएको जानकारी अनुसार, प्रदेश १-००१ च ८२४७ नम्बरको जिप आइतबार राति नुनढाकी नजिकै सडकबाट खसेको थियो । दुर्घटनास्थलमै र उपचारका क्रममा गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा चैनपुर-१ सिङरीङका ३४ वर्षीय निमदोर्ची शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा र पाँचथरको फिदिम नगरपालिका-४ माझिटारका २८ वर्षीय दिपेश माझी रहेका छन् । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको प्रहरीले जनाएको छ ।