सालामान्का (मेक्सिको) । मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसंख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एक जनाको पछि अस्पतालमा निधन भयो । घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।
मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुन:स्थापना’ गर्न आग्रह गरे। उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।”
सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो । गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो ।
गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्यांकअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल-सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन-बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् ।
सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।


प्रतिक्रिया