सेयर बजारमा ४२ अंकको पहिरो

सेयर बजारमा ४२ अंकको पहिरो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट भएको छ । मंगलबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको हो ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज दिनभरिमा ३ सय ३३ वटा कम्पनीका ३ करोड २ लाख खरिदबिक्री हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । कुल सूचीकृत कम्पनीमध्ये जम्मा ३४ वटाको मूल्य बढेको छ भने २२४ वटा कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बजार ओरालो लागे पनि केही जलविद्युत र विकास बैंकका लगानीकर्ताले भने राम्रो कमाएका छन् । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, दोर्दी खोला जलविद्युतको ८.४१ प्रतिशत, माया खोला जलविद्युतको ८.३६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५७ प्रतिशतले मूल्य बढेको छ ।

बजार उच्च गतिमा घटे पनि आज कुनै पनि कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेन । सबैभन्दा धेरै मूल्य घटेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.९३ प्रतिशतले घटेको छ । ट्रेड टावरको मूल्य ६.६६ प्रतिशतले घटेको छ ।

आज म्युचुअल फण्डको सूचक स्थिर रहँदा अरू सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, एसवाई प्यानलको ५७ करोड ६८ लाख, आँखुखोला जलविद्युतको ५१ करोड ४३ लाख र ङादी ग्रुप पावरको ३९ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।