चुनावको सुरक्षा र आचारसंहिता पालनाबारे आयोग र गृह मन्त्रालयबीच छलफल

चुनावको सुरक्षा र आचारसंहिता पालनाबारे आयोग र गृह मन्त्रालयबीच छलफल



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा व्यवस्था, आचारसंहिताका परिपालनालगायतका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच आयाेगमा छलफल भएको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लङ्घनका अवाञ्छित गतिविधि निस्तेज गर्ने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव लक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमनलगायतको विषयमा चासो व्यक्त गरेका छन् ।

यस्तै गृहमन्त्री अर्यालले चुनावका लागि सुदृढ शान्ति व्यवस्था मिलाइएको र दण्डहीनता सह्य नहुने भन्दै आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालयअन्तर्गतका निकायलाई पूर्णरूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।