अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल



काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।

मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानूनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवद्र्धनमा केन्द्रित प्रयास अघि बढाएको जनाएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो महिना पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च भएको छ । यो गएको आर्थिक वर्षको त्यहि अवधिको तुलनामा १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म ९ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको छ ।

चालू शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४०.८२ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११.६६ प्रतिशत अर्थात् ४७ अर्ब ५४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस अवधिको कुल चालु खर्च ३.३५ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत खर्च ४.८६ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३.२९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व सङ्कलनमा पनि ठूलो चाप देखिएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ४० अर्बको राजस्व उठाउने लक्ष्य राखेको छ भने पुस मसान्तसम्ममा सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने भनिएको थियो, तर यस अवधिमा पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख बराबर मात्रै राजस्व उठेको छ । जुन लक्ष्यभन्दा एक खर्ब २९ अर्ब ८० करोडले कम हो ।

यस्तै, बेरुजु फछ्र्यौटमा पनि अर्थ मन्त्रालय कमजोर देखिएको छ । मन्त्रालयको कुल १ खर्ब २५ अर्ब बेरुजु रहेकामा यस अवधिमा आठ अर्ब मात्र फछ्र्यौट भई १ खर्ब १७ अर्ब कायम भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । जुन ६.४ प्रतिशतको प्रगति हो । प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगलाई गएको पुस मसान्तसम्ममा कूल ६ अर्ब ३१ करोड निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।