एनआरएनए १२ औं महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म

एनआरएनए १२ औं महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म


ग्लोब नेपाल
162
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । सोमबार एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्रीसहितको बैठकले महाधिवेशनका लागि उक्त समयसीमा निर्धारण गरेको हो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘२०८२ साल फागुन महिना ३० देखि चैत महिनाको २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौंमा १२औं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने कार्यक्रम तय भएको छ । उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रूपमा संघको सचिवालयले नै कार्य गर्नेछ ।’

‘सम्मेलन तथा महाधिवेशनसम्बन्धी तयारीका कामहरू क्रमशः अघि बढिरहेका छन् । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ता लगायत विविध सत्रमा छलफल हुनेछ । उक्त सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैर आवासीय नेपाली प्रतिनिधिहरू, गैर आवासीय नेपाली अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ’ विज्ञप्तिमा भनिएको छ ।