काठमाडौं । नेपालमा पहिलोपटक चितवनको माडीमा सालक सम्मेलन हुने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा आउँदो माघ २६ गते माडी नगरपालिका–६ मा सम्मेलन हुन लागेको हो ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा बागमती प्रदेशभित्रका १३ वटा डिभिजन वन कार्यालयका प्रमुखहरुको सहभागिता हुनेछ । यसबाहेक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि, विज्ञलगायत संरक्षणकर्मीको उपस्थिति रहनेछ ।
प्रायः जमिनमुनि बस्ने सालक सङ्कटमा परेको छ । किसानको साथीका रूपमा रहेको सालकले धमिरा र कमिलाबाहेक अरू नखाने हुँदा अन्नबालीमा नोक्सान गर्दैन । माटो खोस्रेर नरम बनाउँछ । त्यसैले सालकको संरक्षण गर्नुपर्छ भनेर सन्देश फैलाउन सालक सम्मेलन आयोजना गरिएको आचार्यले बताए ।
संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिनेछ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गरी सम्मेलन सम्पन्न हुनेछ ।


प्रतिक्रिया