काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरू तोड्ने दाबी पनि गरे । उनले श्रमिकलाई समस्यामा पार्ने खालका सबै कार्यविधिहरू खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीसँग जोडिएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था समस्याका रूपमा देखापरेको उल्लेख गरे । बाहिरबाट हेर्दा राम्रो देखिए पनि याे व्यवस्थाले राजस्व चुहावट, कर छली र सङ्गठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।
उनले भने, ‘हामी श्रमिकमैत्री नबनेकै हो । आत्मसमीक्षा गरौँ । वैदेशिक रोजगारसँग जोडिएको फ्री भिसा फ्री टिकटको विषय पनि समस्याका रूपमा देखिएको छ । हेर्दा–सुन्दा राम्रो लागे पनि राजस्व चुहावटदेखि लिएर कर छली र सङ्गठित अपराधहरू यसको माध्यमबाट भइरहेका छन् । त्यस कारण यसलाई खारेज गरौँ ।’
मन्त्री भण्डारीले नवैदेशिक रोजगारसम्बन्धी कार्यविधि संशोधनका लागि समिति गठन भइसकेको जानकारी दिँदै समितिले सरोकारवालासँग सुझाव सङ्कलन गरेर काम गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया