विश्वकप : इंग्ल्याण्डसँग ऐतिहासिक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

विश्वकप : इंग्ल्याण्डसँग ऐतिहासिक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा आज इंग्ल्यान्डसँग ऐतिहासिक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले जीतको शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले मुम्बईको वानखेडे स्टेडियममा देशको राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्ने उल्लेख गरेकी छन् । साथै कप्तान रोहितकुमार पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गरेकी छन् ।

तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

उनले लेखेकी छन्, ‘इंग्ल्याण्डसँगको आजको ऐतिहासिक खेलमा सिङ्गाे देशको तर्फबाट जीतको शुभकामना ।’ भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल इंग्ल्याण्डसँग खेल्दैछ ।

खेल वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । समूह ‘सी’ मा रहेको नेपालले समूह चरणका अरू खेलमा वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्नेछ ।प्रतियोगिता आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म चल्नेछ ।

अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्याण्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।