पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार सन् २००१ देखि २०२५ सम्मको अवधिमा यो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
सन् २०२५ मा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ लाख ९९ हजार ८३१ पर्यटकले यस क्षेत्रको भ्रमण गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।
सन् २००१ मा करिब ६५ हजार पर्यटक आएकोमा यो सङ्ख्या उतारचढावका बीच बढ्दो क्रममा देखिएको छ । सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटकको सङ्ख्या १ लाख नाघेको थियो ।
सन् २०१५ को भूकम्प र सन् २०२०–२१ को कोरोना महामारीका कारण केही वर्ष पर्यटक आगमनमा भारी गिरावट आए पनि त्यसयताको वृद्धिदर लोभलाग्दो छ । कोरोना महामारीका बेला सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ पर्यटक मात्रै यस क्षेत्रमा पुगेका थिए ।
गत वर्ष भित्रिएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका मात्रै १ लाख ७७ हजारभन्दा बढी रहेका छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रजस्ता आकर्षक गन्तव्यका कारण यहाँ पर्यटकको आकर्षण बढेको एक्यापका प्रमुख डा. रबिन कडरियाले जानकारी दिए ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनको अवलोकनका लागि अन्नपूर्ण क्षेत्र विदेशी मात्र नभई आन्तरिक पर्यटकका लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहमा फैलिएको यो क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक हो ।
पदयात्राका लागि आवश्यक पूर्वाधार र स्थानीयको आतिथ्यताले गर्दा यस क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउँदै गएको छ ।


प्रतिक्रिया