१०८ दिनको पदयात्रापछि बौद्ध भिक्षुहरू अमेरिकाको राजधानी वाशिङ्गटन पुगे

१०८ दिनको पदयात्रापछि बौद्ध भिक्षुहरू अमेरिकाको राजधानी वाशिङ्गटन पुगे



काठमाडौं । बौद्ध भिक्षुको टोली १०८ दिनको शान्ति यात्रा सकेर अमेरिकाको राजधानी वाशिङ्गटन पुगेको छ ।

’वाक फर पिस’ अर्थात् ’शान्तिका लागि पदयात्रा’ कार्यक्रम गएको वर्ष अक्टोबर २६ मा टेक्सासको फोर्ट वर्थबाट शुरू भएको थियो ।

भिक्षु पन्नाकरको नेतृत्वमा रहेको १९ जनाको टोलीले ३ हजार ७०० किलोमिटरको यात्रा पूरा गरेको छ । थेरवाद बौद्ध गुम्बाका विश्वभरका १९ जना भिक्षु रहेको टोलीमा आलोका नामको कुकुर पनि थियो ।

यो कुकुरले सन् २०२२ मा भारतमा पदयात्रामा छँदा टोलीलाई पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा टोलीले टेक्सासबाट यात्रा शुरू गर्ने निर्णय गरेपछि आलोकालाई भारतबाट अमेरिका लगिएको हो ।

यात्राका क्रममा भिक्षुहरूले अमेरिकाका ८ राज्य पार गर्दै शान्ति, ध्यान र करुणाको सन्देश फैलाए । हजारौँ मानिसले उनीहरूलाई स्वागत गरे र सामाजिक सञ्जालमा लाखौँ मानिसले उनीहरूलाई फलो गरेका छन् ।

यात्राका क्रममा भएको एक दुर्घटनाका कारण एक जना भिक्षुको खुट्टा काट्नुपर्ने अवस्था आए पनि टोलीले आफ्नो लक्ष्य पूरा गर्‍याे । बौद्ध धर्ममा १०८ एक पवित्र सङ्ख्या मानिन्छ ।

यसैलाई ध्यानमा राखेर यो यात्रा १०८ दिनमा पूरा गर्ने योजना बनाइएको भिक्षुहरूले बताएका छन् ।