दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु



म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि बिहीबार (माघ २९)देखि हटेको छ ।

आयोजनको प्रवर्द्धक धौलागिरि कालिका हाइड्रो लिमिटेड हो ।

दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको थियो । तर, सम्झौताको ६ वर्षसम्म पनि पुल निर्माण सुुरु नभएपछि आन्दोलनमा उत्रिएका धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए ।

स्थानीयवासीको मागअनुसार चालु आर्थिक वर्ष भित्रै मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता भएकाले आन्दोलनमा सहभागी राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शमा आन्दोलन फिर्ता लिइएको हो ।

आन्दोलन फिर्तासँगै जलविद्युत् आयोजना निर्माण कार्य सुचारु गराउन सहयोग गर्ने निर्णय भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरेर जति सक्दो छिटो पुल निर्माण सुरु र सम्पन्न गरिने प्रतिबद्धता जनाए ।

दाङखोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच ०७६ जेठ २२ गते एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सुरुमा उक्त आयोजना ०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । १८ मिटर लामो मोटरेबल निर्माणकार्य सुरु गर्ने तयारी हुँदा दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटरमाथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनालेनै पुल बनाउने सहमति भएको थियो ।

आयोजनाले समयमा काम गर्न नदिएको कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन सकेको थिएन ।

स्थानीयले दबाबका लागि पुल निर्माण सुरु नहुँदासम्म जलविद्युत् आयोजना निर्माणकार्य बन्द गराएका थिए ।

०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ ।